गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

सुत्केरीको स्वास्थ्य अवस्था बिग्रिन नदिन ग्रामीण क्षेत्रका सेवा प्रदायकलाई ‘कोचिङ’



पर्वत : सदरमुकाम कुश्मा बजारबाट टाढा रहेको जलजला गाउँपालिकाको ग्रामीण क्षेत्रमा रहेको प्रसूति सेवा प्रदायकलाई विशेष प्रशिक्षण दिइएको छ ।

स्वास्थ्य कार्यालय पर्वतको आयोजना तथा जलजला गाउँपालिका र ‘वान हार्ट वर्ल्ड वाइड’ को प्राविधिक सहयोगमा मातृ तथा नवशिशु स्वास्थ्य सम्बन्धी ‘अनसाइट कोचिङ मेन्टोरीङ’ कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत तथा मेन्टोरिङमा सहभागी अन्जली पौडेलले बताइन् ।

अहिलेसम्म पर्वत अस्पतालमा दुई ओटा ब्याच, जलजला गाउँपालिकाको मल्लाज, लेकफाँट र शालिजामा रहेका स्वास्थ्य चौकी, फलेवासको नगरपालिकाको फलेवास नगर अस्पताल र कुश्मा नगरपालिकाको दुर्लुङ स्वास्थ्य चौकीमा गरी सात ओटा ‘अनसाइट कोचिङ मेन्टोरीङ’ सञ्चालन गरिसकिएको छ ।

सदरमुकाम आसपासमा रहेका गर्भवतीहरू सुत्केरी हुनको लागि बजारमा रहेको पर्वत अस्पतालमा आउने भए पनि ग्रामीण क्षेत्रका गर्भवतीहरू गाउँमै रहेका ‘बर्थिङ सेन्टर’हरूमा सुत्केरी हुने गरेका छन् । स्वास्थ्य विज्ञानको क्षेत्रमा हरेक दिन जसो भित्रिएका नयाँ सीपहरुहरु ग्रामीण क्षेत्रसम्म पुग्न नसक्दा परम्परागत शैलीले नै सुत्केरी गराउँदा मातृ शिशुको स्वास्थ्य अवस्था जोखिममा रहने भएकोले नयाँ सीपहरू प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको ‘पब्लिक हेल्थ नर्स’ तथा कार्यक्रमकी ‘फोकल पर्सन’ सुमन शर्माले बताइन् ।

‘विगतमा केही सुविधा थिएन, गाउँमा बर्थिङ सेन्टर थिएनन् । बिस्तारै बर्थिङ सेन्टर बने, गाउँमा नै सुत्केरी हुने व्यवस्था भयो । तर अहिलेसम्मको सीप कमजोर होइन, तर अब अपडेट सीपहरू ग्रामीण क्षेत्रसम्म पुगेर विस्तार गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु गरिएको हो’, उनले भनिन्, ‘यो अभियानका क्रममा हामीले रिभाइज्ड स्कील्सहरु दिँदै नो होम डेलिभरीका लागि आवश्यक सहकार्य पनि गरिरहेका छौँ । यसले आमा र बच्चाको स्वास्थ्यलाई थप सुरक्षित बनाउँछ भन्ने विश्वास लिएका छौँ ।’

सैद्धान्तिक रूपमा भन्दा पनि स्थलगत रूपमा स्वास्थ्य संस्थामा नै पुगेर सकेसम्म सुत्केरी गराउने बेला नै पारेर प्रशिक्षण दिँदा व्यवहारिक सिकाई धेरै हुने भएकोले स्थलगत रूपमा नै प्रशिक्षण गरिएको प्रशिक्षक अन्जली पौडेलको भनाइ छ । यो कार्यक्रम अन्तर्गत सामान्य प्रसूति, प्रसूति पछिको अत्यधिक रक्तस्राव व्यवस्थापन, ‘प्रि इक्लाम्पसिया र इक्लाम्पसिया’ को व्यवस्थापन, ‘कङ्गारु मदर केयर’, निसास्सिएको नवशिशुको व्यवस्थापन, ‘रेकर्डिङ’, ‘रिपोर्टिङ’, ‘इन्फेक्सन प्रिभेन्सन’ लगायतका विषयमा ज्ञान र सीपको विकास गरिएको उनले बताइन् ।

‘सामान्य कुरामा पनि पछिल्लो समयमा आधुनिक सीपहरूको प्रयोग हुन थालेका छन् । सुविधा र सुरक्षाका लागि भित्रिएका नयाँ सीप र ज्ञानको प्रयोग गर्दै परम्परागत र जोखिमयुक्त सीपहरूलाई हटाउँदै जानुपर्ने गरी प्रशिक्षण गरिएको छ’, जनस्वास्थ्य अधिकृत पौडेलले भनिन्, ‘यो कार्यक्रमको उद्देश्य भनेको ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरहरूलाई थप सुरक्षित र सीपयुक्त बनाउँदै सुत्केरी हुनकै लागि बजार जानुपर्ने अवस्थाको अन्त्य गर्नु हो । ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरमा सुरक्षित डेलिभरी हुन सकेमा नो होम डेलिभरीको अवस्था आउँछ ।’

आफूसँग भएको सीपले सुत्केरी गराउँदै आएकोमा यो कार्यक्रमबाट थप सीपहरू विकास गर्ने अवसर मिलेको ‘सिनियर अनमी’ तथा लेकफाँट स्वास्थ्य चौकी इन्चार्ज सिता कुमारी सुवेदी पौडेलले बताइन् ।

साभार : सघन न्युज

Download: सुत्केरीको स्वास्थ्य अवस्था बिग्रिन नदिन ग्रामीण क्षेत्रका सेवा प्रदायकलाई ‘कोचिङ’